Hero Image

पूर्वी क्षितिजमा सपनाका रङहरू: झापाका विद्यार्थीहरूसँगका ती चार दिन

Aug 04, 2026
By Ghunsa Foundation
Motivational

कक्षाकोठाका जीवन्त संवादहरू

यस भ्रमणका क्रममा हामीले २४ वटा विभिन्न विद्यालयका कुल ३१६ जना विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूका मनका कुरा सुन्ने मौका पायौँ।

श्री जनता माध्यमिक विद्यालयका ४९ जना र शनिश्चरे माध्यमिक विद्यालयका ३७ जना विद्यार्थीहरूसँगको त्यो संवाद निकै ऊर्जावान रह्यो। उनीहरूका आँखामा देखिएको त्यो चमक र केही नयाँ जान्ने उत्सुकताले हामीलाई हाम्रो जिम्मेवारी अझ प्रस्ट बनाइदियो। लक्ष्मी माध्यमिक विद्यालयका ४५ जना र सिंहा देवी माध्यमिक विद्यालयका २३ जना भाइबहिनीहरूसँग करियरका विविध पाटाहरूबारे छलफल गर्दा समय बितेको पत्तै भएन।

साना समूह, ठूला सपना

हाम्रो यात्रा केवल ठूला हलहरूमा मात्र सीमित रहेन, हामी स-साना समूहमा रहेका विद्यार्थीहरूसम्म पनि पुग्यौँ। कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका २० जना र भानु माध्यमिक विद्यालयका १५ जना विद्यार्थीहरूसँगको त्यो आत्मीय संवादले हामीलाई निकै छोयो। एभरेस्ट इङ्लिस बोर्डिङका १३ जना र सिर्जना शिशु सदनका १० जना भाइबहिनीहरूमा देखिएको त्यो सिक्ने भोकले हामीलाई थप उत्साहित बनायो।

त्यस्तै, अर्जुनधारा, बाँसबारी, ब्राइटर इङ्लिस स्कुल र अरु धेरै विद्यालयका साना-साना समूहहरूसँग गरिएको त्यो सामीप्यताले एउटा कुरा प्रस्ट पार्यो संख्या जतिसुकै होस्, हरेक विद्यार्थीको सपना हाम्रा लागि उत्तिकै मूल्यवान छ।

अभावलाई जितेर अघि बढ्ने संकल्प

संस्थापक याङ्जोम शेर्पाले आफ्नै जीवनमा भोग्नुभएका ती अभाव र संघर्षका कथाहरू सुन्दा झापाका विद्यार्थीहरूले आफूलाई थप सुरक्षित र प्रेरित महसुस गरे । हामीले उनीहरूलाई बुझायौँ कि अब प्रविधिको यो युगमा भूगोलको दूरीले तपाईंको शिक्षालाई रोक्न सक्दैन। घुन्सा फाउन्डेसनका निःशुल्क अनलाइन कक्षा र डिजिटल सामग्रीहरूले कसरी उनीहरूको हातमा संसारकै उत्कृष्ट शिक्षा पुर्याइरहेको छ भन्ने कुरा साझा गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको त्यो आशाको चमक नै हाम्रो यात्राको वास्तविक उपलब्धि थियो ।

झापाको यो चार दिने यात्राले हामीलाई धेरै माया र नयाँ उर्जा दिएको छ। यहाँका ३१६ जना विद्यार्थीका ३१६ वटै फरक र सुन्दर सपनाहरूलाई हामीले आफ्नो हृदयमा सजाएर फर्किएका छौँ। यो अभियान सफल बनाउन साथ दिनुहुने सम्पूर्ण विद्यालय परिवार र प्यारा विद्यार्थी भाइबहिनीहरूलाई हृदयदेखि धन्यवाद!

पूर्वी नेपालको यो न्यानो आतिथ्यलाई सम्झिँदै हाम्रो यो यात्रा अब अर्को नयाँ गन्तव्यतिर मोडिनेछ।